पत्रकारकै डेराबाट ठूलो मात्रामा बिष्फोटक पदार्थ बरामत


  वीरगञ्ज, १६ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको चिनी मिल आवास क्षेत्रमा छापामारेर एकजना पत्रकारको कोठाबाट ठूलो परिमाणमा बिष्फोटक पदार्थ बरामद गरेको छ ।

चिनी मिल आवास क्षेत्रमा अधिवक्ता महेन्द्र साहको घरमा डेरा लिएर पत्रकार सुदर्शनराज पाण्डे बस्दै आएका थिए ।

 गोप्य सूचनाका आधारमा प्रहरीले छापामारेर पाण्डेको कोठाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दस्तावेज, झण्डा, पर्चा पम्प्लेटका साथै विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने विद्युतीय सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

घर मालिक अधिवक्ता साहले आफूले उक्त घर पत्रकार सुदर्शनराज पाण्डेलाई भाडामा दिएको र पाण्डेकै कोठाबाट प्रहरीले बिष्फोटक सामान बरामद गरेको बताएका छन् ।

पत्रकार पाण्डे भने फरार रहका छन् । प्रहरीले पत्रकार पाण्डेको कोठामा बिहीबार साँझ छापामारेको थियो ।

पत्रकार पाण्डेको कोठाबाट प्रहरीले भोल्टको ब्याट्री एक थान, तार १० मिटर, रिमोट एक थान, किट एक थान, टेष्टर एक थान, विप्लव समूहको झण्डा १४ थान, चन्दा रसिद तीन ठेली, कम्युनिष्ट पार्टी सम्बन्धी किताब दुई दर्जन, विप्लवको राजनीतिक प्रतिवेदन, ब्यानर, क्यालेण्डर, डायरीलगायतका सामान बरामद गरेको छ ।

पत्रकार पाण्डे फरार भएपछि प्रहरीले घरधनी समेत रहेका अधिवक्ता सहालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comments