प्रदेश ५ को चुनावी सुरक्षाका लागि ३ सय बम डिस्पोजल टोलीसहित १० हजार सेना परिचालन गरीयो


   नेपालगञ्ज । भोलि हुने प्रदेश र प्रतिनिधिसभा निवार्चनमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेश नम्बर ५ मा नेपाली सेनाका १० हजार फौज परिचालन गरिएको छ।

एम १६ सहितका अत्याधुनिक हतियार र बम डिस्पोज पार्ने स्वचालित उपकरणसहित करिब १० हजार सेना परिचालन भएका हुन्। हवाई तथा स्थल टोली परिचालन गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन हरसम्भव प्रयास गरिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाले ५ नम्बर प्रदेशमा मात्र बम डिस्पोज पार्ने करिब ३ सय वटा स्वचालित उपकरणसहितको टोली परिचालन गरिएको जनाएको छ। बम डिस्पोजल टोलीसँगै स्वचालित र अर्धस्वचालित अत्याधुनिक उपकरणसहित मेडिकल टोली पनि खटिएका छन्।

प्रदेश ५ का बाँके, बर्दिया, दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही र पश्चिम नवलपरासीका १ हजार ५ सय १ मतदानस्थल तथा ३ हजार १ सय ६६ मतदान केन्द्रमध्ये करिब ४ सय मतदान केन्द्र सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको छ।

नेपाली सेनाले सुरक्षाका दृष्टिले संवेदनशील रहेका बर्दिया र दाङमा सबैभन्दा लडाकु मानिएको रेन्जर बटालियन नै परिचालन गरेको छ। निर्वाचनलाई बाधा पुर्‍याउने कुनै गतिविधि भएको खबर पाएको १० मिनेटभित्रै पुग्नेगरी सेनाको टोलीलाई खटाइएको छ।

सेनाले स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्था प्रभावकारी बनाउने प्रयास गरिएको जनाएको छ।

यसैबीच, नेपाल प्रहरीले प्रदेश ५ मा निर्वाचनमा शान्ति–सुरक्षामा खलल पुर्‍याउन खोज्ने १ सय २५ व्यक्तिमाथि मुद्दा चलाएको छ। यस्तै, निर्वाचन बिरोधी गतिविधि गर्ने व्यक्ति तथा समूहहरुको गतिविधिलाई नियन्त्रण गर्न शंकास्पद स्थानमा खानतलासी तीव्र पारिएको प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रवक्ता पुष्पराज मल्लले बताए।

प्रहरीले सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीहरुको गस्ती बढाउनुका साथै आकस्मिक चेक प्वाइन्ट बनाएर चेकजाँच गर्दै आएको छ।

Comments