काठमाडौं– सोमबार बुढानीलकण्ठको चपलीमा भएको बम विस्फोटमा घाइते भएका श्यामकृष्ण श्रेष्ठको करङबाट प्रेसर कुकरको सिट्ठी निकालिएको छ। विस्फोटका कारण श्रेष्ठको शरीरभित्र कुकरको सिट्ठी छिरेको थियो।
घाइते श्रेष्ठको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि उनको आइसियूमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
विस्फोटमा श्रेष्ठसँगै घाइते भएका गगन थापाले बुधबार साँझ अस्पताल पुगेर उनलाई भेटेका छन्। भेटका क्रममा थापाले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
श्रेष्ठको करङबाट निकालिएको कुकरको सिठी देखेपछि थापाले उनीतिर हेर्दै भने, ‘अहो, धन्न बाँचिएछ ! गेट वेल सुन दाइ।’
थापाले उक्त विस्फोटमा घाइते भएका राजकाजी श्रेष्ठ र जयराम लामिछानेलाई पनि भेटेर स्वास्थ्य अवस्था बुझेका छन्। उनीहरु दुवै जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
राजकाजीको दाहिने घुँडामा गम्भीर चोट लागेको छ भने देब्रे हातको कुममा पनि चोट छ। उनको पनि सफल शल्यक्रिया भइसकेको छ। उनी अस्पतालको अर्थोपेडिक्स वार्डको ४०२ नम्बर कोठामा छन्।
थापाले अस्पतालमा घाइतेहरुसँग करिब एक घन्टा कुराकानी गरेका थिए। साँझ ६ बजे अस्पताल पुगेका थापा ७ बजे निस्किएका थिए।

Comments
Post a Comment