नवराज ​सिलवाललाई आयो खुशीको खबर नवराज समर्थन गर्दै आकाश लामाले उम्मेदवारी फिर्ता


 ललितपुर, १६ मंसिर । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका आकाश लामाले बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाललाई समर्थन गरेका छन् । लामाले गोटीखेलमा शुक्रबार सम्पन्न बाम गठबन्धनको जनसभामै सम्बोधन गरी उम्मेदवारी स्थगन गरेका हुन् ।

ललितपुरको विकासलाई बाम गठबन्धनले मात्र अघि बढाउन सक्ने र त्यसको लागि दूरदर्शी भिजन नवराज सिलवालसँग रहेकोले यो निर्वाचनलाई सिलवाललाई आवश्यक रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी घोषणामार्फत फिर्ता लिएका हुन् ।

गुलाफ चिन्ह लिएर चुनाव प्रचारमा रहेका लामाले दशैभर बाम गठबन्धनको माहौल रहेको र आजको राष्ट्रिय आवश्यकता बाम गठबन्धनको बहुमतको सरकार भएकाले अव पनि बाम गठबन्धनलाई नसघाउनेले आफ्नो र आफ्नो मुलुकको भविष्यमाथि प्रश्नचिन्ह उठाएको उनले दावी पनि गरे ।


लामा भन्छन्, “यस ललितपुर क्षेत्र नम्बर १ का जनताको भावना र चाहना बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउने रहेको छ । जनताले नवराज सिल्वालको नेतृत्व चाहेका छन् । त्यसैले नवराज सिलवाललाई समर्थन गर्दै मेरो उम्मेदवारी फिर्ता लिन्छु ।”

यसैगरी सो चुनावी सभामा ललितपुर १ ‘क’ प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका कुमार बरामले पनि बाम गठबन्धनकी उम्मेदवार लालकुमारी पुन (सुशीला) लाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । लामा र बरामले दुवैले राष्ट्रिय आवश्यकता बाम गठबन्धनको विजय रहेकोले बाम गठबन्धनलाई समर्थन गरेको बताएका छन् ।

गोटीखेलमा सम्पन्न उक्त चुनावी जनसभा दक्षिण ललितपुरकै २०५६ सालपछिकै ठूलो सभा रहेको स्थानीयको भनाइ रहेको छ । उक्त सभामा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री बर्षमान पुन, उम्मेदवारहरु नवराज सिलवाल, शुसिला पुन, चेतनाथ सञ्जेल आदिले सम्बोधन गरेका थिए ।

शनिबार, मंसिर १६, २०७४ मा प्रकाशित

Comments