काठमाण्डु, १४ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने ।
प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने, ‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ ।’ प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भई काठमाण्डु ल्याइएका बिरामीलाई भेट्न आज त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार नारायण कार्कीलगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिए ।
बुधबार उदयपुरगढी गाउँपालिका–६ मा चुनाव प्रचारप्रसारका क्रममा कार्कीलाई लक्ष्य गरी भएको एम्बुस विस्फोटमा परी घाइते भएका कार्कीसहित सात जनाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नराख्न निर्देशन दिए ।
विस्फोट हुँदा उम्मेदवार कार्की, काँग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जीप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालीदास श्रेष्ठ पनि घाइते भएका थिए ।
घाइते कटुवालको एउटा खुट्टा घुँडामुनिबाट काटिएको छ । सबै घाइतेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालका निर्देशक दीपक महराले जानकारी दिए ।

Comments
Post a Comment