हेलिकप्टरमा बस्न नपाउदा विवाद, मतपेटिका बोकेरै ल्याइँदै


  सोलुखुम्बु, ११ मंसिर – राजनीतिक दल र निर्वाचन आयोगबीच कुरा नमिल्दा सोलुखुम्बुका अति पहाडी र हिमाली क्षेत्रका मतपेटिका हेलिकप्टरबाट नल्याइने भएको छ ।

 निर्वाचन आयोगले मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गर्ने भनेको भए पनि राजनीतिक दलका प्रतिनिधि हेलिकप्टरमा बस्न पाउने वा नपाउने भन्ने विषयमा आयोग र दलबीच कुरा नमिल्दा हेलिकप्टरबाट मतपेटिका नल्याइने भएको हो

यसअघि सोलुखुम्बुको लिखुपिके गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने भनिएको थियो ।

आयोगले मतपेटिका ल्याउँदा हेलिकप्टरमा मतदान अधिकृत मात्रै बस्न मिल्ने बताएको छ । भने दलले आफ्ना प्रतिनिधि पनि बस्न पाउनु पर्ने अडान लिएपछि मतपेटिका भरिया मार्फत नै ल्याइने भएको हो ।

आयोग र दलबीच कुरा मिल्न नसक्दा ढिलो हुने भएपनि भरिया लगाएर नै मतपेटिका ल्याउने सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । सदरमुकाम नजिकका मतदान केन्द्रका मतपेटिका आइतबार नै सदरमुकाम ल्याइएको थियो ।

Comments