हुम्ला, १२ मंसिर – सिमकोट जहाजस्थलबाट सुर्खेतका लागि उडेको तारा एयरको ट्वीनअट्टर जहाज हुम्लामा दुर्घटना भएको छ । नाइनएन–एबिएम कल साइनको भएको तारा एयरको जहाज मंगलबार बिहान करिव ८ बजेर ४० मिनेटमा उड्ने क्रममा बायाँ साइडको टायर पन्चर भएपछि जहाजस्थलको दक्षिणी भागमा दुर्घटना भएको हो ।
जहाजमा चालक दलका सदस्य सहित १६ जना यात्रु थिए । जहाजमा सवारमध्ये चार जना घाइते र १२ सकुशल रहेको सिमकोट जहाजस्थलका प्रमुख भीमदत्त पन्तले बताए । जहाज दुर्घटना भए लगत्तै सबै यात्रुको उद्धार गरी जिल्ला अस्पतालमा लगिएको थियो । १३ जना यात्रु जनपद प्रहरी हुन् । उनीहरु हुम्लामा चुनावी सुरक्षाको लागि खटिएका थिए । गत आइतबार चुनाव सकिएपछि उनीहरु सुर्खेत ओर्लँदै थिए ।
दुर्घटनामा घाइते भएका प्रहरी सहायक निरीक्षक यमप्रसाद दाहालको पेटमा समस्या देखिएकोले जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगंज लगिएको प्रहरी नायव उपरीक्षक कमलप्रसाद नेपालले बताए ।
त्यसैगरी दुर्घटना परी पेटको दायाँ भागमा चोट लागेकी एयर होस्टेज श्रेया श्रेष्ठलाई पनि प्रारम्भिक उपचारपछि नेपालगंज लगिएको छ भने अन्य १२ जना सकुशल रहेका तारा एयरमा मिडिया कोअर्डिनेटर राजेन्द्र शर्माले बताए ।
दुर्घटनामा जहाजका क्याप्टेन बसन्त लामा र को–पाइलट अमित गुरुङको नाकमा चोट लागेको थियो । उनीलाई पनि जिल्ला अस्पतालमा सामान्य उपचारपछि तारा कै अर्को जहाजबाट नेपालगंज लगिएको छ ।
यात्रु भरेर सुर्खेतका लागि टेकअफ रनिङ भइसकेको जहाजको एकसय मिटर अगाडि बढिसकेपछि टायर पन्चर भएको थियो । पन्चर भएपछि पाइलटले एयरपोर्ट कै तीन ठाउँमा ब्रेक लगाउन खोजेका थिए । तर जहाज नरोकिएको जहाजस्थलमा रहेका नयाँ भैरवी दल गुल्मका गुल्मपती कमल केसीले बताए ।
दुर्घटनास्थलबाट ५ मिटरको दुरीमा स्थानीयको घर रहेको छ । घरमा मानिसहरु घाम तापेर बसिरहेका थिए । जहाजको ककपिट पूर्ण रुपमा क्षति भएको छ । जहाजको तीन वटै टायर र दायाँ पखेटामा केही क्षति पुगेको छ । दुर्घटनास्थलमा प्रहरीका सामान तथा हतियारहरु छरिएर छन् । कान्तिपुरबाट

Comments
Post a Comment