आफ्नो उमेरमा बुढेसकाल लागेसङ्गै बिगत २० वर्षदेखि यहि ओढारमा बस्दै आएकी यी आमा र यस्तो छ उनको कथाब्याथा
हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ माइती भएकी ७० वर्षीया गोला शाही कुष्ठरोग लागेकै कारण १२ वर्षदेखि ओडारमा बस्न बाध्य छिन् ।
बझाङ जिल्लाको पिमीनौरा गाउँमा विवाह गरेकी शाही श्रीमान्को मृत्युपछि माइतीको सहाराको आस गरेर हुम्लामा आएकी थिइन् । तर रोग लागेका कारण माइतीले सहयोगको साटो घृणा गर्यो ।
‘परिवारका अन्य सदस्यलाई रोग सर्ने भन्दै माइतीले गाउँलेको सहारामा घरबाट निकालिदिए,’ भक्कानिँदै आँखाभरि आँसु पारी उनले दुखेसो पोखिन् । पहिला माइतीमा हँुदा आफूलाई यस्तो रोग नभए पनि श्रीमान्बाट कुष्ठरोग सरेको उनले बताइन् ।
श्रीमान्को मृत्युपछि बेसहारा भएर माइती घरमा आए पनि माइतीको सहयोगभन्दा पनि पीडा सहनुपरेको ७० वर्षीया गोला शाहीको दुखेसो छ । २०४८ सालदेखि कृष्ठरोगले च्यापेपछि उपचारका लागि सबै ठाउँमा चहारेकी शाही सन्चो नभएपछि अहिले खंगालगाउँको लामा खोल्सीको जंगलमा रहेको ओडारमै बस्दै आएकी छन् ।
‘अहिले मेरा हातका औंला छैनन्,’ हात देखाउँदै उनले भनिन्, ‘औंला गुमाउँदा अप्ठ्यारो महसुस भए पनि अहिले बानी परिसकेको छ ।’ कसैले वास्ता नगरेको र आफूलाई घृणा गरेकोमा उनको गुनासो छ । ‘कसैले वास्ता गर्दैनन्, घरछेउमा जानेबित्तिकै कोढिनी आई भन्दै जिस्काउँछन् र हप्काउँदै लखेट्छन्,’ उनले आँसु झार्दै भनिन्,
‘केही खानेकुरा दिँदा पनि टाढाबाटै फाल्ने गर्दा साह्रै दुःख लाग्छ ।’ माइतीको घर लगाउँदा आफूले निकै काम गरे पनि अहिले आफू बेसहारा हुँदा वास्ता नगरेकोमा उनको चित्त दुखेको छ । ओडारमा बसेकी शाहीलाई न खानेकुरा छ न त सुत्ने कपडा छ ।
गाउँगाउँमा गएर माग्न नसके भोकै बस्नुपर्छ । खोलानजिक ओडारमा एक्लै बस्नुपर्दा शाहीलाई डर लाग्छ । आपूm सानै हुँदा फुपूलाई बिराम लागेको र उपचारका लागि बुबाले सहर लगे तापनि सन्चो नभएपछि अरूलाई सर्ने डरले ओडारमा बसाएकोे शाहीका भदा ज्ञानेन्द्र शाहीले बताए ।
समुदायका अन्य मानिसले पनि आप्mनो घरपरिवारलाई नराम्रो दृष्टिले हेर्ने र एक्ल्याउन थालेपछि बाध्य भएर फुपूलाई ओडारमा राखेको उनको भनाइ छ ।
ओडारमा राखे पनि खान अपुग भएको खण्डमा आफूले पटकपटक ओडारमै पुर्यायउने गरेको शाहीकी भाउजू जुलाफीले दाबी गरिन् । सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आएको छ । तर यी वृद्धाले १२ वर्षदेखि घरबाट विस्थापित हुनुपरेको छ भने उपचार अभावमा पीडा सहनुपरेको छ ।

Comments
Post a Comment